
लामो समयको बन्दाबन्दीपछि अर्थतन्त्रलाई उकास्न कोभिड १९ संक्रमण रोकथामका लागि गरेको निषेधाज्ञा हटेको छ । त्यसपछि बजार खुल्ने निर्णय भयो । बजार खुलेसँगै ठप्प रहेका व्यापार, व्यवसाय, र सार्वजनिक यातायातका सवारी संचालनमा आएका छन् । बन्दाबन्दीको मर्कामा परेका नागरिक बजार खुलेपछि आफ्ना गतिविधि सुचारु गर्न थाले । चार्डपर्व नजिकिएकाले नागरिकको आवतजावत बढ्नु स्वभाविकै हो । दैनिक रुपमा भईगरेका कामहरु बन्दपछि खुलेको अनुभव आमनागरिकले गरेको पाइएको छ । उनीहरुले गरेको गतिविधि देख्दा लाग्छ, कोरोना भाइरस संक्रमणको अन्त्य भएको छ । जहाँ कुनै स्वास्थ्य सुरक्षा आवश्यक नै छैन । व्यापारिक केन्द्रमा रहेका पसल, उद्योग, कलकारखाना र वित्तीय संस्थामा सहभागि सेवा प्रदायक र सेवाग्राही बिच कुनै सर्तकता रहेको छैन ।
कोराना भाइरस संक्रमण रोकथामका लागि कुनै पनि स्थानीय तहको ठोस योजना बनाएका छैनन् । केही स्थानीय तहले केही संख्या अटाउने क्वारेन्टाइन र आइसोलेशन निर्माण गर्दै छन् । जुन संख्या परिस्थिति अनुसार अत्यन्तै न्यून छ । बन्द रहेका विद्यालयमा क्वारेन्टाइन र आइसोलेशनका संरचना तयार गरेर संक्रमण रोकथामका लागि काम गरेका स्थानीय तह यतिबेला होम क्वारेन्टाइन र आइसोलेसनमा रमाएका छन् । उनीहरुलाई पछिल्लो समय हाइसन्चो छ । संक्रमितको व्यवस्थापनमा टाउको दुखाई छैन । घरमा बस्दा स्वास्थ्य मापदण्ड अपनाएका छैनन् । जसले समुदायमा भयाबह रुपमा संक्रमण फैलिइ सकेको छ । यसतर्फ ध्यान पुग्न पर्ने हो तर सरोकारवाला निकाय मौन छन् । भारत तथा तेस्रो मुलूकबाट आएका वा नेपालकै उच्च संक्रमण भएको क्षेत्रवाट आउँदा उनीहरुको सहि व्यवस्थापन गर्न सके संक्रमण रोक्न सकिन्छ भन्ने कुरा बुझ्न जरुरी छ ।
संक्रमणको सुरुका दिनमा भारत लगायत तेस्रो मुलुकबाट आउने व्यक्तिलाई क्वारेन्टाइन र आइसोलेसनमा राख्ने स्थानीय तहले व्यवस्था गर्दा शून्य संक्रमण रहेको जिल्ला बन्न पुगेको थियो । अहिले त्यहि स्थानीय तहको लापरवाहीले संक्रमितको संख्या बढेको छ । बन्दाबन्दी, क्षेत्र शील मात्र संक्रमण रोकथामको विकल्प होइन भन्ने बुझेका छन् वा छैनन् ? बजार क्षेत्रमा हुने स्वास्थ्य मापदण्ड विपरितका गतिविधिलाई व्यवस्थापन गर्नुपर्छ । घरफर्केका व्यक्ति खुलेयाम हिडडुल गरेकालाई रोक्नका लागि वडा तहमा क्वरेन्टाइन निर्माण हुनुपर्छ । उनीहरुलाई सम्भाव्य संक्रमणबारे परामर्श दिनुपर्छ । परीक्षणको दायर बढाउनुपर्छ । स्वाव संकलन गरेर परीक्षणका लागि पठाइएको व्यक्तिको निगरानी गर्नुपर्छ । स्वास्थ मापदण्ड नअपनाए कारवाही समेतको अवस्थामा पुग्नुपर्छ । यसो गरियो भने मात्र संक्रमण रोकथाम सहज हुन्छ । सरोकारवाला निकायले यी कुरा नबुझ्ने हो भने दसैपछि दशा लाग्ने पक्का छ । त्यसैले समयमै सर्तकता अपनाऔं ।