मन्दिरको आम्दानी व्यवस्थित गर

रूरूक्षेत्र धाम रिडीस्थित ऋषिकेशव मन्दिरको आम्दानी सयौं वर्षदेखि पुजेरी गाउँका भट्टराई वंशले लिन्छन् । गुठाी संस्थान लगायत अन्य सरोकारवाला निकायले मन्दिर र भेटी व्यवस्थित गर्न तर्फ ध्यान दिएको छैन । जसका कारण पुजारीका वंशले मन्दिरको आम्दानी लिएका हुन् । ऋषिकेश मन्दिरमा मेला चलेको समयमा मात्रै कम्तीमा तीन लाखसम्म आम्दानी हुने अनुमान छ । अन्य महिनामा कम्तीमा ५० हजार रुपैंयाँसम्म हुन्थ्यो । यतिबेला कोरोना संक्रमण त्रासले गर्दा भने भक्तजन गएका छैनन् । यो मन्दिरमा वर्षौदेखि दानपात्रमा चढाएको बाहेक सबै पुजारीले राख्ने चलन छ । पौराणिक कालदेखि पवित्र तीर्थस्थलको रूपमा परिचित रूरूक्षेत्रमा तानसेन नगरपालिका–१४, पुजेरीगाउँका भट्टराई वंशले पुजा चलाउँछन् । उनीहरु नै मन्दिरको पालैपालो जिम्मा लिने गरेका हुन् । प्रचलन अहिलेको होइन, वर्षौदेखिकै हो । आम्दानीको सही हिसाब किताब नहुँदा यहाँको विकास पनि तीव्र गतिमा हुन सकेको छैन । यो अन्य धामको विकास र यहाँको विकास तुलना गर्दा पनि देखिने कुरा हो ।

धेरै वर्ष अघिदेखि रूरूक्षेत्रको ऋषिकेष मन्दिरलाई भट्टराई वंशले पुर्खौली सम्पत्तिको रुपमा प्रयोग गरेकोहो । मन्दिर जंगलको विचमा थियो । टाढाटाढाबाट नियमित रुपमा पुजा गर्न आउन समस्या हुन्थ्यो । त्यसैले अर्गलीका भट्टराई वंशका व्यक्ति बिहान घाम उदायपछि आएर पुजा गर्ने र बेलुकी घाम नअस्ताउँदै पुजा सकेर जाने प्रचलन थियो । त्यति बेलाबाटै अहिलेसम्म भट्टराई वंशले यहाँको आम्दानी लिने गरेका हुन् । नियमित पुजा खर्चसमेत व्यहोर्ने गर्छन्  । यो हिजो भट्टराई वंशले रेखदेख गरे होलान् । तर अहिले यहाँ राज्यको करोडौ लगानी भएको छ । हुन त अहिले कोरोना भाइरसका कारण भक्तजन नआउँदा नियमित पूजा खर्चसमेत धान्न समस्या छ । यस्तो बेलामा स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान पनि पुगेको छैन । पुजारीले ऋण काढेर भएपनि नियमित पुजा रोकेका छैनन् । मन्दिरको व्यवस्थापनमा गुठी संस्थानले गर्ने भएपनि चासो दिएको छैन । मन्दिर संचालनका विषयमा कहिल्यै चासो नदिएकाले अलपत्र जस्तै छ ।

मन्दिरका योजना र गतिविधि गुठी संस्थानबाट हुन्छ । वडा तहबाट धामको विकासका लागी समन्वय भइरहन्छ । मन्दिरमा वार्षिक कति आम्दानी हुन्छ भन्ने यकिन तथ्याङ्क छैन । दानपात्रमा जम्मा भएको रकमबाट सरसफाई गर्ने कर्मचारी र भान्छेलाई तलब खुवाउने गरिन्छ । रूरूक्षेत्रजस्तै बराहक्षेत्र, पशुपतीक्षेत्र र मुक्तिनाथ क्षेत्र हुन् । तर त्यहाँको व्यवस्थापन कस्तो छ ? एक पटक सिकाई गर्नुपर्ने हो । तर यहाँको विषयमा कुनै पनि निकायको ध्यान नपुग्नु दुःखको विषय हो । तानसेन नगरपालिकाले रूरूक्षेत्रलाई गूरुयोजनामा समावेश गरेको भएपनि संचालन तथा व्यवस्थापनमा चासो दिएको छैन । त्यसैले रूरूक्षेत्रको व्यवस्थापन गर्दै मन्दिर र भेटी व्यवस्थापनमा सम्बन्धित सरोकारवालाको चासो हुनुपर्छ । होइन भने वर्र्षाैदेखि पछि पर्दै आएको यस पवित्र क्षेत्रमा विकास हुन सक्दैन ।

सम्बन्धित खवर