Monday, June 27, 2022
Homeसमाचारउज्यालो र समृद्ध रैनादेवीछहरा

उज्यालो र समृद्ध रैनादेवीछहरा

पाल्पा । ‘उज्यालो रैनादेवी, समृद्ध रैनादेवी, धार्मिक र खेलकुद पर्यटनको गन्तव्य रैनादेवी’ नारालाई सार्थक बनाउने गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याउने गरेको छ ।

यसले विशेष गरी खरका छाना हटाउने पहिलो लोकप्रिय निर्णय गरेको थियो । पछि यसले उज्यालो र समृद्ध रैनादेवी पनि महत्व दिएको छ । यति मात्र होइन, धार्मिक र खेलुकद पर्यटनलाई पनि जोड दिएको छ ।

दीर्घकालिन सोँचमा पुग्न चालु आर्थिक वर्षको रैनादेवी छहरा गाउँपालिकाका नीति तथा कार्यक्रम एवम् बजेटले जोड दिएको छ । गाउँपालिकाबासीमा सुख, शान्ति र समृद्धि ल्याउनका लागि नै नीति तथा कार्यक्रम र बजेटले जोड दिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए ।

उनका अनुसार खरका छाना मुक्त गराउने र उज्जालो गाउँपालिका बनाउने पहिलो प्राथमिकता हो । पर्यटन र खेलकुदलाई पनि जोड दिएको उनले बताए ।

गाउँपालिकामा पर्यटनतर्फ सालझण्डी हुँदै बल्डेङ्गढीसम्म पदमार्गको रुपमा सम्भाव्यता सम्बन्धी अध्ययन गरी पदमार्ग निर्माण गरी आयआर्जन मार्फत प्रतिव्याक्ति आम्दानी बढाई नागरिकहरुको जीवनस्तरमा सुधार गर्ने योजनालाई पनि अघि बढाएको उनले बताए ।

हरियाली वन, सफा र मध्यम खालको हावापानी यस क्षेत्रको परिचय भएको र तराईसँग जोडिएको हुनाले यो पदमार्ग त्यहाँका मानिसको रोजाई बन्न सक्छ । कषि क्षेत्रको विकासका लागि यहाँका खास गरी मुझुङ, सत्यवतीको दक्षिण क्षेत्र लगायतका स्थानमा सुन्तला, टमाटर खेती, अदुवा, बेसार खेती, तरकारी खेती जस्ता नगदेवाली लगायतका व्यवसाय गरी आत्मनिर्भरता तर्फ नागरिकहरुलाई पु¥याउन सकिने अध्यक्ष कार्कीले बताए ।

गाउँपालिकादेखि बुटवल तथा तानसेन जस्ता ठूला शहर नजिक रहेको हुनाले उत्पादनलाई सजिलै बजारमा पु¥याई विक्री गर्न समस्या छैन । बल्डेङ्गढी, रैनादेवी मन्दिर, तिलक थान पार्क लगायतका ऐतिहासिक र धार्मिक स्थलहरुको आवश्यकीय पूर्वाधार निर्माण र प्रचार–प्रसार गरी धार्मिक पर्यटन मार्फत यस गाउँपालिकाको पहिचान र व्यावसायिक क्रियाकलापमा अभिवृद्धि गराउन सकिने गाउँपालिकाकी उपाध्यक्ष चेतकुमारी थापा (चेतना) ले बताइन् ।

उनका अनुसार बल्डेङ्गढी जस्तो अग्लो पहाडी स्थानमा आवश्यक भौतिक पूर्वाधारको विकास र विस्तार यसलाई रुपान्तरण गर्न सकिने आधार छन् । हार्थोक–छहरा, जुठापौवा, सालझन्डी सडक स्तरोन्नती गरी त्यस क्षेत्रमा होटल लगायतका व्यवासाय सञ्चालन मार्फत बेरोजगार यूवाको लागि रोजगारीको सिर्जना गर्न सकिने उपाध्यक्ष थापाले बताइन्।

यस सडकलाई तानसेन–बुटवल सडकको रुपमा वैकल्पिक रुपमा विकास र विस्तार गर्दा यस क्षेत्रका ा नागरिक हरेक दृष्टिमा लाभान्वित हुन सक्ने उनले बताइन् । जुठापौवा, सत्यवती, बल्डेङ्गढी लगायत मगर बाहुल्य भएका वडाहरुमा होमष्टे स्थापना गरी मगर संस्कृतिको संरक्षण गर्दै साँस्कृतिक पर्यटनको उपयोग गरी त्यस ठाउँको प्रचार–प्रसार तथा आम्दानी बढाई गरिबी न्यूनीकरण गर्न सकिने उपाध्क्ष थापाले बताइन् ।

सत्यवतीको निमिचौर झरना रहेका वरीपरी पर्यटकीय पूर्वाधारको विकास गरी रुपन्देही लगायतका घना बस्ती भएका शहरहरुबाट जलपर्यटन मार्फत आन्तरिक पर्यटक आकर्षण गर्न सकिन्छ ।

यस क्षेत्रको वडा नं ६, ७ र ८ मा १ सय ८ किसिमका सुनाखरी फूलहरु पाईने हुनाले यसलाई प्रचार र प्रसारको माध्यमबाट सुनाखरी अध्ययन र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न सकिने उनले बताइन् ।

गाउँपालिकाको वडा नं १, २ लगायतका स्थानमा चुनढुंगा पाईने हुनाले सिमेन्ट उद्योग स्थापना गरी यहाँका मानिसलाई काम र मामको व्यवस्था गर्न सकस नहुने प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर क्षेत्रीले बताए ।

भैरव नवदीप क्याम्पसमा घ पश्चिमका कतिपय जिल्ला तथा छिमेकी जिल्लाबाट समेत प्राविधिक शिक्षा अध्ययन गर्न विद्यार्थीहरु आउने गरेका छन् । यसको गुणस्तरमा स्तरीकरण गरी गाउँपालिकाले थप लगानी गरी यसलाई पश्चिम पाल्पाको शैक्षिक हवको रुपमा विकास र विस्तार गरी यस गाउँपालिकालाई शैक्षिक हवको रुपमा विकास, विस्तार र रुपान्तरण गर्ने अवसर रहेको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले बताए ।

कटौजेपानीमा खेलमैदान बन्दैछ । यसलाई प्रादेशिक स्तरको खेलमैदानको रुपमा रुपान्तरण गरी फुटबल लगायतका खेलकुद प्रतियोगिता गरी खेल पर्यटन मार्फत व्यापक रोजगारीका अवसर सिर्जना गरी तिव्र गतिको विकास गर्न सकिन्छ ।

अम्लावास तथा छहरा जस्ता बजारको रुपमा विस्तार भइरहेका स्थानहरुलाई वस्ती विकास योजना मार्फत व्यवस्थित शहरीकरण गरी यहाँको नकरात्मक गतीमा रहेको जनसंख्या वृद्धिदरलाई बढाउन सकिने गाउँपालिकाका प्रवक्ता विष्णु प्रसाद पोखरेलले बताए ।

चुनौती यस गाउँपालिकाको खास गरिकन विकास व्यवस्थापनको प्राथमिकता ठिकसँग ठम्याउन सक्नु एउटा चुनौतिका रुपमा देखापरेको उनले बताए । गाउँपालिकाको भौतिक पूर्वाधारतर्फको विकासको विद्युतका संरचना निर्माणमा पहिलो प्राथमिकता दिनुपर्नेमा सडक निर्माणलाई दिएको प्रवक्ता पोखरेलले बताए ।

सामाजिक विकासतर्फ खानेपानीलाई अझै पनि प्राथमिकतामा राख्नुपर्नेमा सोही बमोजिमको भएको पाइएको छैन । करिव ५८ प्रतिशत नागरिकहरु मात्रै शुद्ध खानेपानी सेवावाट लाभान्वित भएको स्थिति छ । स्वास्थ्य र शिक्षातर्फ पनि लगानीको हिसावले प्राथमिकतामा पर्नु पर्नेमा व्यवहारमा त्यस्तो देखिन्न ।

विसं २०६८ सालको जनगणना अनुसार यहाँ करिव २२ प्रतिशत जनसंख्या लेखपढ गर्न सक्दैनन् । सरकारी विद्यालयमा पूर्वाधार भएता पनि विद्यार्थी संख्या घट्दो छ । विद्यालय शिक्षाको गुणस्तर निरन्तर सुधार गर्नुपर्ने चुनौती नेपालको जस्तै यो गाउँपालिको पनि रहेको उनले बताए ।

गाउँपालिकाका भित्र भौतिक वस्तुहरु जस्तै ढुङ्गा काठजन्य वस्तुहरु विक्री ठूलो मात्रामा गरी नेपाल सरकार, गाउँ सरकारको कोषमा रकम जुटाई थप विकासका क्रियाकलापमा रकम परिचालन गर्न सकिन्छ । आन्तरिक श्रोत नजुटाएसम्म संघ र प्रदेश सरकारको अनुदानले मात्रै यहाँका नागरिकहरुको विकास प्रतिको भोक मेटाउन नसकिने उनले बताए ।

योजनागत रुपमा अगाडि बढ्दा सवै क्षेत्रको सन्तुलित विकास हुने हुनाले यसमा जति ढिला भयो अब गर्नुहुन्न । गाउँपालिकाले सोचेजति निजी क्षेत्र तथा सहकारी क्षेत्रको शक्ति विकास प्रयासमा एकीकृत रुपमा परिचालन गर्न सक्नुपर्ने लेखा अधिकृत लीलामणी बस्यालले बताए ।

निजी क्षेत्रको आर्थिक शक्ति र सरकारी क्षेत्रको सामुदायिक शक्ति र गाउँ सरकारको नियमन शक्ति संयोजन कुशलतापूर्वक गरी अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

यो पनि पढौँ