टंक पन्तको ‘समय स्फोट’ विमोचन

पाल्पा । साहित्यकार टंक पन्थको दोस्रो कवितासङ्ग्रह ‘समय स्फोट’ को आइतबार विमोचन भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ डा. देवी नेपालले कविताका प्रकारको उल्लेख गरी पद्यकविता र गद्यकविताका आआफ्नै धर्म र मर्म रहेको भाव व्यक्त गरे । उनले छन्द कविताको प्रकृतिमाथि प्रकाश पार्नुका साथै साहित्यकार टंक पन्थका कवितामा युगीन चेतना प्रवाहित भएको कुरा उल्लेख गरे ।
कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले पन्थको कलम सिर्जना र समालोचनामा उत्तरोतर अगाडि बढेको कुरा उल्लेख गरे । विशिष्ट अतिथि पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा वरिष्ठ साहित्यकार गणेशप्रसाद भट्टराईले कवितात्मक शैलीमा ‘समय स्फोट’ भित्रका कविताको सन्दर्भ उठान गरी स्रष्टाको छवि राष्ट्रिय रूपमा नभई अन्तर्राष्ट्रिय तहसम्म फैलियोस् भन्ने शुभकामना दिए ।

कृतिमाथि समीक्षा गर्दै साहित्यकार नीलकण्ठ न्यौपानेले सुरुमा आमा, बीचमा माटो र अन्त्यमा बाबा शीर्षक रहनुले यस कृतिले जीवनको सारतत्त्व बोकेको सन्दर्भ उठाए । छन्द, अलङ्कार तथा रसका पृष्ठभूमिमा पनि कविता सुन्दर रहेको मर्म उनले व्यक्त गरे । यस्तै कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै साहित्यकार दीन पन्थीले पन्थका कविता हावाको प्रभावमा नबगी प्रतिपक्षी मर्ममा केन्द्रित रहेको बताए ।
भाव, लय र विचार तीनै तहमा कविता सबल रहेको उनले बताए । कार्यक्रममा विभिन्न स्रष्टाहरूद्वारा ‘समय स्फोट’ संग्र्रहभित्रका कविता वाचन गरे । पाल्पाली स्रष्टाहरू आयाम कार्की, रीता न्यौपाने वेल्बासे, तुल्सीराम पोखरेल, भावना खनाल तथा कमल खत्रीले एक÷ एकवटा कविता वाचन गरे । साहित्यकार मन गहिरे, वरिष्ठ पत्रकार मेघराज शर्माले बधाई तथा शुभकामना दिए । धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्यालको अध्यक्षता र महासचिव राजेशकुमार अर्यालको सञ्चालनमा भएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तिलाई स्वागत पुस्तकालयका कोषाध्यक्ष सन्तोष खनालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here