Monday, June 27, 2022
Homeअन्तरर्वार्ताविकास निर्माणको लक्ष्य पूरा हुन्छ ः अध्यक्ष जीसी

विकास निर्माणको लक्ष्य पूरा हुन्छ ः अध्यक्ष जीसी

रिब्दीकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसीसँग गरिएकाे कुराकानीकाे सारसंक्षेप ः

अहिलेको अवस्था के छ ?
यतिबेला मुलुक मात्र होइन विश्व नै कोरोना भाइरस (कोभिड–१९) बाट ग्रस्त छ । सरकारले चैत ११ गते लकडाउन सुरु गरेपछि हामी अझ मर्कामा परेका छौं । रिब्दीकोट गाउँपालिका यसबाट पक्कै पनि अछुतो रहेन र रहन सक्ने कुरै भएन । संघीय सरकार, प्रदेश सरकार र जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन समितिले भने अनुसारको काम भइरहेको छ । हामीले सुरुमै कोरोना भाइरसका विषयमा सचेतनामुलक कार्यक्रम गरियो । राजनीतिक दल, जनप्रतिनिधि, सर्वपक्षीय सहभागितामा जनचेतनामुलक काम गरिएको छ । यो बाहेक पनि हामीले स्वास्थ्य संस्थामार्फत्, महिला स्वास्थ्य स्वयंसेविकामार्फत् पनि जनचेतना जगाउने काम गरियो । गाउँ कार्यपालिकाको बैठक बस्ने अब यसका विषयमा कसरी जोगिन सक्छ भनेर विभिन्न उपाय अवलम्बन गर्न थालियो । गाउँपालिकामा तथ्यांक संकलनको काम गरियो । अहिले पछिल्लो समयमा भारत लगायत तेस्रो मुलुकमा कति छन् भन्ने कुराको तथ्यांक लिने काम भएको छ ।

गाउँपालिकामा राहत बितरण कसरी भइरहेको छ ?
हामीले सबै वडामा तथ्यांक संकलन गरियो । तथ्यांकबाट आएका अति विपन्न, सहारा नभएका ज्येष्ठ नागरिक, अःसहाय व्यक्ति ,अपांगता भएकाहरुका लागि पहिलो चरणमा राहत बितरण गरियो । सुरुमै हामीले राहत बितरण गरेका हौं । तर अहिले दोस्रो चरणको राहत भने हामीले कामका आधारमा दिने निर्णय गरेर अघि बढेका छौं । यो बाहेक पनि हामीले केहीलाई नाली खन्न, सडक सफाई, सडकमा पानी पर्नासाथ भल व्यवस्थापन गर्न पनि काममा लगाएका छौं । राहत लिनका लागि अति विपन्न परिवारलाई काममा लगाउने योजना अनुसार नै हामी अघि बढेका छौं । अहिलेपनि हामीले सबै ८ वटै वडामा एक लाखका दरले बजेट पठाएका छौं । जसबाट सडक खन्ने, ढुंगा बोक्ने, नाली सफा गर्ने लगायतका काममा वडाध्यक्षहरुले काममा लगाएको जानकारी आएको छ । जसबाट पैसा पनि आउने र काम पनि गराउन सक्ने भएको छ । यो नीति निकै राम्रो पनि हो । त्यसै राहत बाँड्ने भन्दा पनि उनीहरुलाई काममा लगाएर नगद नै पैसा दिन थालिएको छ । दैनिक काम गरेवापत ५ सय १७ पाउनेछन् ।

विदेशबाट फर्केका युवाका लागि के योजना छ ?
पशुपालन, कृषिमा अनुदानको व्यवस्था अघिल्लो वर्षदेखि नै गरेका छौ । यसमा विशेष गरी युवालाई हाम्रो कार्यक्रम लक्षित छ । अहिले कोरोना भाइरसको त्रास छ । हामीले सकेसम्म अहिले यस्तो बेलामा विदेशबाट नफर्किए हुने थियो भन्ने चाहेका छौं । यदि भिसा सकिएको वा अन्य कारणले आउने नै हो भने पनि उनीहरुलाई कृषि, पशुपालनमा लगाउने योजना छ । जसबाट दुध, तरकारी बाहिर पठाउन सकियोस् । साँचै भारत लगायत तेस्रो मुलुकबाट आउन चाहनेहरुलाई कृषिमा संलग्नता बनाउन सकियो भने राम्रो नै हुन्छ । हुन त हामीले सकेसम्म त्यही बस्नका लागि अनुरोध पनि गरेका छौं । कामपछि दाम दिने योजनामा पनि सहभागी गराउन सकिन्छ । खाडी लगायतका मुलुकमा बस्नेहरुको तथ्यांक संकलन भइरहेकाले पनि यसमा के काम गराउन सकिन्ट सोही अनुसार गरिने छ । गाउँलिकाले स्थापना गरेको राहत कोषमा पनि विभिन्न संघसंस्था, सहकारी, व्यक्तिगत तवरबाट पनि रकम जम्मा भइरहेको छ । यसबाट पनि संकटमा परेकाहरुका लागि सहयोग गर्न सकिन्छ ।

कोरोना रोकथाम र संक्रमण हुन नदिन के कसरी काम भइरहेको छ ?
रिब्दीकोट गाउँपालिकामा ८ वडा छन् । सबै वडाका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छौं । स्वास्थ्यकर्मीले बिरामी हेरेनन् भन्ने गुनासो सुरु सुरुमा आयो । तर अहिले पिपिई लगाएर बिरामी हेर्ने ज्वरो नाप्ने, हार्थोक बजारमा हेल्थ डेस्क राख्ने काम भएको छ । सबै स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्यचौकीमा पुगेर सेवा दिन आग्रह गरेका छौं । प्रत्येक वडाका स्वास्थ्य चौकीमार्फत् कोरोेना भाइरस रोकथाम र संक्रमणका विषयमा जनचेतना फैलाउने काम भएको छ । नागरिकमा आत्मबल बढाउने काम भइरहेको छ । विद्यालयका विद्यार्थीलाई मास्क बितरण गरिएको छ । उनीहरुलाई लकडाउन सुरु हुनु अघि नै साबुनपानीले हात धुन सिकाइएको छ । मास्क प्रयोग गर्न लगाउने काम भएको छ । त्यसका लागि राजनीतिक दल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय प्रशासन, जनप्रतिनिधि लगायत संघसंस्थालाई सहयोग माग गरेर चेतनामूलक काम भइरहेको छ । गाउँपालिकाका भित्रका दीर्घरोगी र नियमित औषधि खानेलाई औषधिको व्यवस्था गरिएको छ । सबै वडामा सुरक्षित तवरबाट खोप कार्यक्रम संचालन गरिएको छ । प्रत्येक वडामा क्वारेन्टाइन निर्माण भएका छन् । ख्याहा, भैरवस्थान लगायतका क्वारेन्टाइनमा बसेकालाई आरडिटि गरेर घरमा पठाइएको छ । प्रत्येक वडामा भारत लगायत मुलुकका विभिन्न भागबाट आउनेहरुको निगरानीगरिएको छ । अब २० वेडको भएपनि आइसोलेसन वार्ड बनाउने काम भइरहेको छ ।

यतिबेलाको अवस्था त्रासमय छ यस्तो समयमा विकास निर्माणका काम कसरी भएको छ ?
रिब्दीकोट गाउँपालिकामा चालु आर्थिक वर्षमा ४ सय ५९ योजना छन् । त्यसमध्ये ४ सय २९ वटा योजना सम्झौता भएर अहिलेसम्म २ सय ६ योजनाले भुक्तानी पनि लगिसकेको छ । वडावडामा योजनाका काम भइरहेको छ । गाउँपालिकाको कुल ५६ करोड ७ लाख ११ हजार बजेट छ । जसमा चालुतर्फ ५४ दशमलव ५ र पुँजीगत तर्फ ४८ प्रतिशत रकम खर्च भइसकेको छ । कतिपय सम्पन्न हुनेवाला छन् । मेशिनरी काम लगभग सकिने अवस्थामा पुगेको छ । मानवश्रमको काम सुरु भएको छ । सामाजिक दुरी काम कायम गरेर भएपनि कामहरु हुनेछन् । तालिम, गोष्ठी, प्रशिक्षण लगायतका लक्षित वर्गको काम हुन सक्ने अवस्था छैन । अन्य विकास निर्माणका काम वडामा भइरहेको छ । तर पनि हामीले सोचे अनुसारको चालु र पुँजीगत बजेट खर्च हुन सकेको छैन । हुन त सबै वडामा फलोअप गर्दा योजना सम्पन्न भएको भन्ने जानकारी आइरहेको छ । भुक्तानी नलग्दा ठ्याक्कै थाहा हुन नसक्ने रहेछ ।

चालु आर्थिक वर्षका महत्वपूर्ण काम के हुँदैछन् ?
यसवर्ष हाम्रो गाउँपालिकाले पूर्वाधारका साथै कृषि, पशुपालन र खानेपानीमा बढी लगानी गरेको छ । यही क्षेत्रमा बढी खर्च पनि हुनेछ भन्ने लाग्छ । सरासर काम गर्न पाएको भए धेरै काम गरेको देखिन्थ्यो । कोरोना भाइरसका कारण धेरै कामहरु देखिन सकेको छैन । हामीले यसवर्ष पशुपालन गर्नेलाई बढी सहयोग गर्ने योजना बनायौं । त्यस्तै खानेपानी योजनामा पनि बजेट लगानी छ । पूर्वाधार अन्तर्गतका सडक निर्माणमा खासै योजना छैनन । गाईभैसी २० वटा र सो भन्दा माथि पाल्नेलाई १ लाख, १० वटालाई ४० हजार र ५ वटा पाल्नेलाई २० हजार अनुदान दिने कार्यक्रम छ । बंगुर २० वटा पाल्नेलाई १ लाख, १० वटालाई ४० हजार र ५ वटालाई २० हजार दिने योजना छ । बाख्रा ५० बढी माउ पाल्नेलाई १ लाख ३० लाई ४० र ३० लाई २० हजार अनुदान दिनेछ । लोकल कुखुरा, हाँस, लौकाट, टर्की ५ सय बढीपाल्नेलाई ५० हजार दिइने छ । अदुवा ५ सय केजी लगाउनेलाई ५० प्रतिशत बीउमा अनुदान दिइने छ । सुन्तला २ सय बिरुवा लगायनेलाई ५० प्रतिशत अनुदान दिइने छ । तरकारी ३ रोपनीसम्म गर्नेलाई २० हजार दिइने छ ।

गाउँपालिकाको गौरवका योजनाहरु छन् कि ?
रिब्दीकोट गाउँपालिकाले गौरवका योजनाहरु भनेर केही योजना छुट्याएको छ । जस्तो हार्थोक–कन्टीपोखरा–देउराली–ख्याहा सडकलाई हामीले गौरवको योजनाको रुपमा लिएर काम अघि बढाएका छौं । त्यस्तै बतासे–धुस्टुङ् सडकलाई पनि १ करोड विनियोजन गरेर काम अघि बढेको छ । रिब्दीकोट, जलेश्वर लगायतका पर्यटकीय क्षेत्र बनाउने योजनाका साथ अघि बढेको छ । भालुवन लिफ्ट खानेपानी योजना, पालुङको चुप्रुकधारा लिफ्ट खानेपानी योजना पनि गौरवका योजना नै हुन् ।

गाउँ विकासमा देखिएका चुनौतीहरू के–के छन् ?
मलाई धेरै चुनौती छ जस्तो त लाग्दैन । विकास निर्माणका काममा पर्याप्त कर्मचारी (प्राविधिक) हुने हो भने काममा सहजता आउने थियो । मौसम अनुसार वर्षाको समयमा बजेट आउने, बजेट ढिला आउने, वर्षाको समयमा काम गर्ने संस्कारले गर्दा व्यवहारिक समस्या छ । गाउँपालिकाले छुट्याएको योजना पहिल्यै गर्न पाउनुपर्छ । ठेक्का सुरुदेखि नै लगाउन पाउने हो भने पक्कै सहज हुने थियो । बजेट आएपछि सूचना निकाल्ने, ठेक्का प्रक्रिया परम्परावादी भएकाले समस्या छ । ठेक्काका काममा एक महिना, २० दिन पर्खिनुपर्ने अवस्था छ । पुरानै प्रवृत्तिले पनि समस्या छ । झन्टट बढी छ । बजेट समयमा नआउने समस्या नै चुनौती छ । चाडै आउने हो भने वर्षायाममा काम गर्नुपर्ने थिएन । पारदर्शीता नहुने, सबैलाई नसमेट्ने समस्या बढी छ । यी यस्ता चुनौ छन् । नीतिगत रुपमा समस्या भएकाले नै काम गर्न समस्या भएको हो । ढिलासुस्ती गर्ने, पारदर्शी नहुने समस्या पनि छ । मुलतः नीतिगत रुपमै चुनौती छ । साधन र स्रोत छैन । नागरिकलाई पर्याप्त टिप्पणी गर्ने आधार बनेको छ ।

पर्यटकीय क्षेत्र पनि धेरै छन् त्यसको काम कसरी अघि बढेको छ ?
रिब्दीकोट गाउँपालिकामा जलेश्वर र भैरवस्थानलाई महत्व दिएर काम अघि बढाएका छौं । अन्य वडाका सानातिना धार्मिक मन्दिरहरुलाई पनि सहयोग नगरिएको होइन । तर पनि जलेश्वरमा १०८ पिपल रोपिएको छ । १०८ जलधारा बनाउने काम भइरहेको छ । संघीय र प्रदेश सरकारबाट पनि सहयोग आएको छ । भैरवस्थानमा पनि गेट निर्माण, बाटो बनाउने कामका लागि लगानी भइरहेको छ । ख्याहाको छत्रदेव, बतासेको कालिका मन्दिरका लागि पनि सहयोग दिएर धार्मिक गन्तव्य बनाउने योजना अघि बढेको छ ।

कोरोना भाइरसको चुनौती के छन् ?
वास्तवमा कसैले सोचेकै थिएन यस्तो महामारी आउला भनेर । तर पनि हामीले टोलटोलमै निगरानी समिति बनेको छ । विदेशबाट फर्केकालाई गाउँमै राख्ने व्यवस्था गर्ने छौं । एक टोलदेखि अर्को टोलमा नजाने वातावरण मिलाउने योजना बनाएका छौं । भारत, नेपालकै विभिन्न स्थानमा साथै विदेशमा रहनेहरु २ हजार ७ सय जति छन् । उनीहरुलाई सकेसम्म उतै बस्न आग्रह गर्ने हो । यदि भएन भने आएर उनीहरुलाई गाउँ टोलमै बस्ने व्यवस्था गर्ने छौं । खेतीपाती, सडक निर्माणको काममा लगाउन सकिन्छ । सित्तैमा होइन, काम दिएर मात्र पाल्न सकिन्छ । काममा लगाउने नै हो । अब राहत बाँड्ने होइन काम गराउने र पैसा दिने नै हो । ठूलो संकट हो यसको ठोस उत्तर कसैले दिन सकेको छैन । समस्या आयो अब यसको समाधान गर्ने न हो ।

अन्त्यमा …
हामीले सचेतना फैलाउने काम गरेका छौं । क्वारेन्टाइन व्यवस्थापन, आइसोलेशन कक्ष निर्माणमा अघि बढेका छौं । स्वास्थ्यकर्मी, स्वयंसेविका परिचालन लगायतका काम भइरहेको छ । कोरोनाभाइरसबाट त्रसित बन्ने भन्दा पनि सजग रहने नै हो । यसबाट बच्ने उपाय भनेको सतर्कता अपनाउने नै हो । त्यसैले सबै नागरिकले नियमको पालना गर्नु जरुरी छ । सबैले सतर्कता अपनाउने हो भने कोरोना भाइरससँग जुध्न सकिन्छ ।

यो पनि पढौँ