विवाहपछि सुस्ताएकी दीपिका

अभिनेत्री दीपिका प्रसाईंको डेब्यू फिल्म ‘ऐश्वर्य’ हो । यसमा उनले आफूभन्दा झण्डै आधा उमेर जेठा अभिनेता रमेश उप्रेतीसँग रोमान्स गरेकी थिइन् । फिल्ममा समावेश ‘तिमी रोएको पल’ गीत सार्वजनिक भएपछि फिल्म क्षेत्रमा उनको सुन्दरताको चर्चा हुन थालेको थियो । फिल्म प्रदर्शन भएपछि उनको अभिनयको पनि वाहवाही भयो । फिल्मले पनि हलमा सुखद व्यापार गर्‍यो ।

डेब्यू फिल्मबाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा उदाएकी दीपिकाले दोस्रो फिल्मको रुपमा नेपाली फिल्म क्षेत्रमा शक्तिशाली समुहको रुपमा चिनिएको दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ३’ मा काम गरिन् । फिल्म रिलिजपूर्व उनी हास्यकलाकारको छायाँमा पर्ने धेरैको अनुमान थियो । तर, उनको दमदार अभिनयले हास्यकलाकारको भीडमा हराउन दिएन ।

दुई फिल्मको सफलताले करिअरको उत्कर्षमा पुगेकी दीपिका बैबाहिक जीवनमा बाँधिएपछि भने सुस्ताएकी छन् । ‘छक्का पञ्जा ३’ प्रदर्शन भए लगत्तै उनले ‘ऐश्वर्य’ निर्देशक दीवाकर भट्टराईसँग लगनगाँठो कसेकी थिइन् । यसपछि उनी अभिनीत फिल्म प्रदर्शनमा आएका छैनन् । विवाहपछि उनले फिल्म ‘हेल्लो जिन्दगी’ मा काम गरिन् । तर, यो फिल्म रिलिजको अझै टुंगो छैन ।

लकडाउनको समयमा अभिनेत्री प्रसाईंले निर्देशक दीपक ओलीको ‘कृष्ण लीला’ साइन गरेकी थिइन् । तर, स्वास्थ्य समस्याका कारण उनले यो फिल्मबाट हात झिकेकी छन् । प्राप्त जानकारी अनुसार, स्थिति सामान्य भएपछि उनले श्रीमानले निर्देशन गर्ने लभस्टोरी फिल्म ‘तिमीसँगै हुन मन छ’ मा अभिनय गर्नेछिन् । यसमा उनको जोडी अभिनेता पल शाह बाँधिने चर्चा छ ।

आइतवार दीपिका आफ्नो जन्मदिन मनाउँदैछिन् । धनगडीमा जन्मिएकी उनले आफ्नो उमेर भने खुलाउने गरेकी छैनन् । उनलाई फिल्मकर्मीदेखि शुभचिन्तकहरुले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् । उनका श्रीमान तथा निर्देशक दीवाकर भट्टराईले आफूले जीवनमा पाएको सबैभन्दा महत्वपूर्ण मान्छे भन्दै जन्मदिनको शुभकामना दिएका छन् ।

सम्बन्धित खवर